हर्लङबर्लङ मन्दिर जहाँ मार्ग शुक्ल पूर्णिमाकाे दिन अर्थात धान्यपूर्णिमाकाे दिन मेला लाग्छ

सिन्धुपाल्चोककाे चौतारा सँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेस्थित सताब्दी पुरानाे हर्लङबर्लङ देवीथानमा मार्ग शुक्ल पूर्णिमाकाे दिन अर्थात भाेली धान्यपूर्णिमा (य मरी पुन्ही)काे दिन ठूलाे मेला लाग्ने गर्दछ । मेला एक रात २ दिन लाग्ने गर्दछ । मेला भर्न मानिसहरू टाढा टाढा बाट आउने गर्दछन्

देवीथानमा पूर्णिमाकाे दिन रातभर जाग्राम बसी बत्ती बाल्ने परम्परा रहेको छ । बत्ती बाल्न छिमेकी जिल्ला काठमाडाैं, भक्तपुर, काभ्रेपलाञ्चाेकदेखिका मानिसहरू आउने गर्दछन् ।

यस वर्ष मेला संगै हर्लङबर्लङ यूवा परिवारले साँगीतीक कार्यक्रमकाे पनि आयाेजना गरिएकाे छ । मेलामा यस वर्ष विभिन्न लाेक तथा पप गायकहरूकाे साँगीतीक प्रस्तुती हुने यूवा समूहका मिन स्याङतानले बताउनुभएकाे छ ।

हरेक वर्ष मार्ग शुक्ल पूर्णिमाकाे दिन मेलालाग्ने उक्त स्थानमा अहिले बाटाेकाे सुबिधा राम्राे रहेकाे छ भने काठमाडाैंबाट ९० किलाेमिटरकाे दुरीमा सजिलै पुग्न सकिन्छ । एक सय ३५ वर्ष पुरानो इतिहाँस बाेकेकाे सो मन्दिर ७२ सालकाे भुकम्पमा क्षति पुगेकाे थियाे ।

अहिले हर्लङबर्लङ पर्यटकिय क्षेत्रका रुपमा विकसित हुन थालेको छ। २०६९ साल चैत ८ गते हर्लङबर्लङस्थित मन्दिरको चौर सम्याउन डोजर लगाउने क्रममा ढुंगा उप्काउन खोज्दा अचानक डोजरको स्टार्ट बन्द भई मध्य दिनमा पुरै अन्धकार भएर असिनापानी, हावाहुरी आएको थियो । उक्त दिन दिउसै बतीबाल्नु पर्ने अवस्था आएपछि स्थानीयले अचम्म मानी अनर्थ भएकाे भन्दै देउता बोलाउन लगाइ हेर्दा त्यहाँ विना पुजा खन्दा देवता रिसाएकाेले यस्ताे भएकाे भन्ने भयाे र क्षमा पुजा गरी फेरी खन्ने काम भयाे तर डाेजर स्टार्ट नै भएन स्थानीय महेन्द्र श्रेष्ठ भन्नुहुन्छ ।

स्थानीयले पछि फेरी झाँक्री देखाउँदा त्यहाँ इन्द्रेश्र्वर महादेवकाे शिला भएकाे र त्यस शिलालाइ स्थापना गर्नुपर्ने बताएपछि त्यस शिलालाइ स्थापना गर्ने घाेषणापछि डाेजर पहिलेझै चलेकाे स्थानीय बताउँछन् । अहिले इन्द्रेश्र्वर महादेवकाे मन्दिर निर्माणकाे चरणमा छन् ।

त्यसपछि भेटिएकाे अनौठो शिला र दुई चामत्कारिक गुफाले चर्चामा आएको हर्लङबर्लङ देवीथान आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित हुन थालेको छ। त्यस घटना पश्चात मन्दिर घुम्न आउनेहरुको संख्या बढेपछि स्थानीय महेन्द्रबहादुर श्रेष्ठले इन्द्रेश्वर महादेव संरक्षण तथा विकास समिति गठन गरेर मन्दिर परिसरको विकासमा जुटेका छन् ।

हर्लङबर्लङ मन्दिरलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न स्थानीयकै पहलमा एक करोड लागतको गुरुयोजना तयार गरि निर्माण गरिरहेका छन्। मन्दिर परिसरमा आकर्षक पार्क, धर्मशाला, पिकनिकस्पट, गुफासम्म जाने बाटो बनाइएको छ। लगभग एक कराेड लागतमा निर्माण भइरहेकाे उक्त मन्दिरमा दाताकाे अभाबमा मन्दिरकाे काम पूर्ण हुन नसकेकाे इन्द्रेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष महेन्द्रबहादुर श्रेष्ठकाे भनाइ छ ।

रहस्यमय गुफा जहाँ पस्ने बाटो छ, निस्कने बाटो भेटिएकाे छैन्

मन्दिरै मुनितिर ठूलाे गुफा रहेकाे छ । गुफाको लम्वाई कति छ भन्ने अझै पत्ता लाग्न सकेको छैन । त्यस गुफामा चमेराे बस्ने बस्ने गरेकाे पाइन्छ । रहस्यमय गुफा नाम दिइएको उक्त गुफामा मानीसहरु जुनबाटो भित्र प्रवेश गर्छन त्यहिँ बाट फर्कने गरेका छन् ।

त्यस गुफाभित्र मानिस पसेर हेर्दा बाहिर निस्कने कुनै बाटो नभेटिएकाले गुफाको अन्त्य कहाँ पुगेर भएको छ वा गुफाबाट अन्त कतै निस्कने ठाउँ छ कि छैन भन्ने अझै पत्ता लागेको छैन ।

गुफाभित्र बाघ, सिंह लगायत अन्य जनावर वा भगवानहरुको मूर्ति जस्ता अमूर्त कला गुफा भित्र देख्न सकिन्छ ।