नेपालगञ्जको पर्यटकीय गौरव ‘कान्तिताल’ उपेक्षित : १० करोडको लगानी बालुवामा पानी

काठमाडौँ, साउन ३० । नेपालगञ्ज उपमहानगरपालिका २२, पुरैनीस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको कान्तिताल उचित संरक्षण र व्यवस्थापनको अभावमा पछिल्लो समय जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ करोडौँ लगानी गरे पनि हाल यो क्षेत्र झाँडी र बुट्यानले ढाकिएर कुरुप बनेको हो ।

तालको सौन्दर्यीकरणका लागि उपमहानगरले करिब १० करोड रुपैयाँ खर्चेर निर्माण गरेका रेलिङ तथा अन्य भौतिक संरचनाहरू यतिबेला भत्किएका छन् । स्थानीय बासिन्दा चक्र बुढाका अनुसार संरचनाहरू नष्ट भइरहँदा समेत सरोकारवाला निकायले मर्मत-सम्भारमा ध्यान दिएका छैनन् । ताल क्षेत्रमा झाँडी बढेसँगै यो स्थान यतिबेला लागुऔषध दुर्व्यसनीहरूको अखडा बन्न थालेको र रातको समयमा असुरक्षा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ देखि यस ताललाई व्यवस्थित पर्यटकीय केन्द्र बनाउने योजना अघि सारेको थियो । हाल वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी ठेक्का सञ्चालन गरिरहेका ठेकेदार फनबहादुर गुरुङले भौतिक संरचनामा भएको तोडफोडका विषयमा छानबिन गरिने बताउनुभएको छ । उहाँले पनि दुर्व्यसनीहरूका कारण संरचनामा क्षति पुगेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको बासस्थान रहेको यस तालको पर्यावरणीय संरक्षणका लागि संरक्षणकर्मीहरूले आवाज उठाउँदै आएका छन् । तर, नियमित सरसफाइ र रेखदेख नहुँदा ठूलो सरकारी लगानी अनुत्पादक बन्ने जोखिम बढेको छ ।

यस सम्बन्धमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका योजनाहरू सोचे अनुरूप सफल हुन नसकेको स्वीकार गर्नुभएको छ । उहाँले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ रणनीति बनाइरहेको जानकारी दिँदै सरोकारवालाहरूसँगको परामर्शमा चाँडै प्रभावकारी संरक्षण कार्यक्रम लागू गरिने प्रतिबद्धता जनाउनुभयो ।