आदिवासी जनजातिको अधिकारप्रति एमाले प्रतिबद्ध छ, जातका नाममा द्वन्द्व फैलाउनु हुँदैन : अध्यक्ष ओली
इलाम, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रत्याभूत गरेको आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी सधैँ अडिग रहेको बताउनुभएको छ । एमालेको जनवर्गीय सङ्गठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ’को केन्द्रीय कमिटी बैठकलाई शुक्रबार इलामको फिक्कलमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण एमालेको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । “आदिवासी जनजातिको अधिकार र उनीहरूको मौलिक पहिचानको रक्षाका लागि एमालेले सधैँ अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ,” ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई स्वीकार गरेर मात्र राष्ट्रिय एकतालाई बलियो बनाउन सकिन्छ ।”
सम्बोधनका क्रममा अध्यक्ष ओलीले जातजातिका नाममा समाजमा विभाजन र द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । एमालेले समावेशी लोकतन्त्र र सामाजिक न्यायको वकालत गर्ने दाबी गर्दै उहाँले भन्नुभयो, “जातीय नाममा द्वन्द्व मच्चाएर देशको हित हुँदैन । हामीले सबै समुदायलाई समान अवसर र अधिकार प्रदान गर्दै सहअस्तित्वको आधारमा अघि बढ्नुपर्छ ।”
महासङ्घको यस केन्द्रीय कमिटी बैठकमा सङ्गठनको हालको अवस्था, आगामी कार्ययोजना र आदिवासी जनजातिका समसामयिक सवालहरूमाथि विस्तृत छलफल हुने बताइएको छ । साथै, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे पनि बैठकमा छलफल हुनेछ । बैठकमा एमालेका विभिन्न तहका नेताहरू र महासङ्घका देशभरका प्रतिनिधिको सहभागिता रहेको छ ।