मुक्तिनाथ मन्दिरको बैंक मौज्दात झण्डै १२ करोड : पाँच बैंकमा ११ करोड ७६ लाख रुपैयाँ सञ्चित
काठमाडौँ, साउन ३० । हिमाली जिल्ला मुस्ताङस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ मन्दिरको भेटी संकलनमा उल्लेख्य वृद्धि भएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको धरोहरका रूपमा रहेको यस मन्दिरमा श्रद्धालु भक्तजनहरूले अर्पण गरेको भेटी र दानबाट प्राप्त रकम ११ करोड ७६ लाख ३३ हजार रुपैयाँ पुगेको हो ।
मुक्तिनाथ विकास समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त रकम समितिको विभिन्न बैंक खाताहरूमा मौज्दात रहेको छ। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार संकलित रकमलाई पूर्ण पारदर्शिताका साथ पाँचवटा बैंकमा जम्मा गरिएको छ ।
विवरण अनुसार, सबैभन्दा बढी रकम कृषि विकास बैंकमा ७ करोड १६ लाख ३२ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकमा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ रहेको छ। त्यस्तै, प्रभु बैंकमा ५५ लाख ६४ हजार, नेपाल बैंकमा ११ लाख २३ हजार र माछापुच्छ्रे बैंकमा १७ हजार ५०० रुपैयाँ मौज्दात रहेको समितिले जनाएको छ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा भएको वृद्धिसँगै मन्दिरको आम्दानीको स्रोत पनि बलियो बन्दै गएको देखिन्छ। विकास समितिले यो रकमलाई मन्दिर परिसरको गुरुयोजना कार्यान्वयन, भौतिक पूर्वाधारको संरक्षण, संवर्द्धन र मन्दिर व्यवस्थापनका दीर्घकालीन कार्यहरूमा परिचालन गर्ने लक्ष्य राखेको छ ।
मन्दिरको आम्दानीलाई बैंकिङ प्रणालीमार्फत व्यवस्थित गरिएकाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्न थप मद्दत पुगेको समितिको ठहर छ ।