नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

एजेन्सी,५ पुस । नाइजेरियामा हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नाइजेरियाका स्वास्थ्य अधिकारीहरुले हैजाबाट५१ को ज्यान गएको जानकारी गराएका छन् ।

उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो ।

नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ । ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ ।

उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ । नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ ।

सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ ।