सोलुखुम्बुमा आगलागी, पाँच घर जलेर नष्ट घटनाकाे विस्तृत विवरण आउन बाँकी

सोलुखुम्बु, ५ पुस । सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुयार्एको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ ।

प्रणय राईको घरमा आगो प्रवेश गरेको छ । आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताउनुभयो ।

आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दमकल घटनास्थल गइसकेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताउनुभयो ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।