जापानमा जन्मदर घट्दै

एजेन्सी, ६ पुस । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको हाे ।

मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ ।

सन् १८९९ मा जापान सरकारले जन्मको तथ्याङ्क सङ्कलन सुरु गरेयता पहिलो पटक यो सङ्ख्या आठ लाखभन्दा तल झरेको हाे । सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीहरूले जनाएका छन् ।

जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्च’ले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।