हुस्सु र शीतलहरसँगै तराईकाे जनजीवन कष्टकर बन्दै

सर्लाही, ८ पुस । तराइमा हुस्सु र शीतलहरसँगै जनजीवन कष्टकर बन्दै गएकाे छ । बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बन्दै गएकाे हाे ।

आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ साथै चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो महसुस गरिरहेका छन् । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिदो चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् । परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको बह्मपुरी गाउँपालिका–३ भेल्हीका उपेन्द्र रामले बताउनुभयो ।

ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीकी तेतरी सदा मुसहरले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । “बिहानैदेखि घर बाहिर निस्कन मुश्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ”, उहाँले भन्नुभयो ।

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । अत्यधिक चिसो तथा शीतलहरका कारण स्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोले गाई, भैँसी, बाख्रालगायत घरपालुवा जनावर मर्न थालेको बताइएको छ ।