रोल्पा पहिरो अपडेट: प्युठानको राप्ती नदीमा थप एक जनाको शव फेला, मृतकको सङ्ख्या १२ पुग्यो

रोल्पा, ३० साउन । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गत बुधबार राति गएको विनाशकारी पहिरोमा परी बेपत्ता भएकामध्ये शनिबार थप एक जनाको शव फेला परेको छ। योसँगै उक्त पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बेपत्ता भएका ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो। रोल्पामा पहिरोले बगाएका पुनमगरलाई खोलाले बगाएर प्युठानसम्म पुर्‍याएको प्रहरीको निष्कर्ष छ ।

प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी कृष्ण श्रेष्ठले फेला परेको शवलाई मृतकका भतिजा सुशील पुनले पहिचान (सनाखत) गरेको जानकारी दिनुभयो।

पहिरोमा परी बेपत्ता भएकाहरूमध्ये अब एक जनाको अवस्था मात्र अज्ञात छ। थवाङ–५ निवासी ९ वर्षीय बालक अशिम पुनमगर अझै फेला परेका छैनन्। उनको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय बासिन्दाको टोलीले अप्रेसन जारी राखेको छ।

बुधबार राति घरमा सुतिरहेकै अवस्थामा बस्तीमाथिबाट खसेको ठुलो पहिरोले कोटलबारा गाउँमा ठुलो जनधनको क्षति पुर्‍याएको थियो। मृतक १२ जनामध्ये अधिकांशको शव रोल्पा र छिमेकी जिल्ला प्युठानका विभिन्न खोला किनारहरूमा फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *