आगामी रणनीति तयार गर्न एमाले नेतृत्वको सात दलीय बैठक आज

काठमाडौँ, ११ पुस । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि अब मुलुकमा एमालेको नेतृत्वमा सात दलीय गठबन्धन बनेको छ । सो गठबन्धनमा कांग्रेस, नकेपा समाजवादी र जनमोर्चा बाहेक गठबन्धनका सबै दल सहभागी हुने निश्चित भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबारको छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा प्रस्ताव हुनुभएको थियो । सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै उहाँलाई नियुक्त गरेपछि आज सपथ कार्यक्रम छ । सपथ कार्यक्रमसँगै केही मन्त्रीहरु पनि नियुक्त गर्नुपर्ने र सपथ खुवाउनु पर्ने भएकाले आजै केही मन्त्री बन्ने संभावना छ । ती लगायतका विषयमा छलफल गर्न सातदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने बैठकले शक्ति बाँटफाँटका विषयमा पनि छलफल गर्ने बुझिएको छ । बैठले अबको भूमिकाबारे रणनीति समेत बनाउने बुझिएको छ ।

बैठकमा एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भइसकेका कारण बैठकमा यी सबै दल सहभागी हुने बुझिएको छ । आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र सुरुको साढे २ वर्षको माओवादी र त्यसपछि एमालेले प्रधानमन्त्री लिने सहमति बनिसकेको छ ।