रुकुमका पकेट क्षेत्रका सुन्तलाले बजार नपाएपछि जुस बनाइँदै

रुकुम, १३ पुस । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् ।

जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् ।

मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन् । लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम (पूर्व) मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ ।

बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् ।

किसान रेखा गिरीले स्थानीयस्तरमा उत्पादन गरेको जुस निकै राम्रो रहेको र यसको माग धेरै रहेको बताउनुभयो । अब भने गाउँघरमा खेर जाने सुन्तला सङ्कलन गरेर जुस बनाइ आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जुस उत्पादन तालिम निकै प्रभावकारी हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । रुकुम (पूर्व) को एक सय ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।

उहाँकाअनुसार अहिले ८२ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले फल दिइरहेको छ । यसवर्ष जिल्लाभर नौ सय ७५ मेट्रिक टन सुुन्तला उत्पादन भएको कार्यालयले बताएको छ ।