रहेनन् ब्राजिलका महान फुटबलर पेले

एजेन्सी, १५ पुस । ब्राजिलका महान फुटबलर पेलेकाे निधन भएकाे छ ।

जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका विश्व प्रख्यात ब्राजिलियन फुटबलर पेलेको निधन भएकाे हाे।

नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमरको शल्यक्रिया गरिएको थियो । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।

तीनपटक फिफा विश्वकप जित्ने उनी एकमात्रै खेलाडी हुन् । उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए ।

सन् २००२ मा फिफाले पेलेलाई शताब्दीकै उत्कृष्ट फुटबलर घाेषणा गरेकाे थियाे ।
२१ वर्षको खेल करिअरमा कुल १ हजार ३६३ खेल, १ हजार २८१ गोलकाे विश्व कीर्तिमानी, जसअन्तर्गत आफ्नो देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोलको सानदार रेकर्ड राखेका उनी केही समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।

पेलीकी छोरी केली नासिमेन्टोले बिहीबार एक तस्बिर सार्वजनिक गर्दै बाबुको मृत्‍युको अधिकारिक पुष्टि गरेकी हुन् ।