चिसो छल्न महोत्तरीका विद्यार्थी बस्नथाले घरमै, अधिकांश विद्यालय बन्द

महोत्तरी, १५ पुस । चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ ।

तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।