१९ आरोप लागेकी आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

एजेन्सी, १५ पुस । म्यानमारको सैन्य अदालतले नेत्री आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ ।चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । उनीमाथि १९ आरोप लागेको थियो ।

बीबीसीका अनुसार अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो ।

यसबारे १८ महिना लामो अनुसन्धान–सुनुवाइ चल्यो । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ ।

उनीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ । ७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुकीले आफ्नो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा विताएकी छन् ।