क्षेप्यास्त्र आक्रमणमा चार सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी, १९ पुस । क्षेप्यास्त्र हमलामा डोनेस्क क्षेत्रको पूर्वी भागमा झण्डै चार सय रुसी सैनिकहरूको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । आक्रमणमा करिब तीन सय सैनिक घाइते भएकाे जनाइएकाे छ ।

रुसको रक्षा मन्त्रालयले भने ६३ जना सैनिकहरू मारिएको पुष्टि गरेको छ । सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला आक्रमण भएको रुसको भनाइ छ ।

डोनेस्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित अधिकारीले म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको जनाएका छन् । युक्रेनले क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरेको बताइएको छ ।

सैनिक मारिएको भवन लगभग पूरै ध्वस्त भएकोे बताइएको छ । गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति ठुलो भएको बताइएको छ । आक्रमणमा अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्र प्रयोग भएको रुसको दाबी छ । युक्रेनले सो क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन ।