सेतो मत्स्येन्द्रनाथ पुनः मन्दिरमै विराजमान

काठमाडौं, २४ पुस । काठमाडौं जनबहालस्थित श्री आर्यावलोकितेश्वर सेतो मत्स्येन्द्रनाथलाई पुनः मन्दिरभित्र आसनमा विराजमान गराइएको छ । शुक्रवार पूर्णिमाको राति श्री सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक मन्दिरमा स्थापना गरिएको हो ।

यो भन्दा अघि सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई बहाल बाहिरै राखेर रंगरोगन गरिएको थियो । हरेक वर्ष पौषशुक्ल अष्टमिका दिन मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर निकाली महास्नान गराउने परम्परा छ । उक्त महास्नानलाई स्थानीय नेपालभाषामा ‘न्हवं यायेगु’ भनिन्छ । यो महास्नान गराउन बहालभित्रै एउटा छुट्टै डबली पनि बनाएको छ । यसलाई ‘न्हवं दबू’ भनिन्छ ।

महास्नानपछि मूर्तिलाई घाममा राखी पूर्ण रुपमा रंगरोगन गरिन्छ । यो रंगरोगन गर्ने कार्यलाई स्थानीय नेपालभाषामा ‘लंपुं छायेगु’ भनिन्छ ।

लंपुं छायेगु कार्य सकिए पछि पौषशुक्ल पूर्णिमाको राति विभिन्न प्रकारका विधिहरु गरी मूर्तिलाई पुनः मन्दिरभित्रको आसनमा विराजमान गराइन्छ । यतिबेला गरिने विधिलाई दशकर्म भनिन्छ । यो दशकर्ममा मानिसलाई जस्तै मत्स्येन्द्रनाथलाई पनि जन्मदेखि युवा अवस्थासम्म गरिने विभिन्न संस्कारहरू गराउने परम्परा रहिआएको छ ।

यसमा मत्स्येन्द्रनाथलाई न्वारान, अन्नप्राशन चुडाकर्म, इहि, बाह्राः आदि जस्ता नारी र पुरुष दुवैलाई गरिने संस्कारहरु सम्पन्न गरिन्छ । त्यसपछि मूर्तिलाई मन्दिरमा विराजमान गराइन्छ ।

मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिर बाहिर निकाली महास्नान लगायत रंगरोगन गराउने बेलासम्म मन्दिरको आसनमा एउटा कलश राख्ने गरिन्छ । उक्त कलशमा शोभा भगवती छेउको भजाखुसि नामक खोला किनारमा अवस्थित निर्मल तीर्थबाट ल्याइएको पवित्र जल राखिएको हुन्छ । कलशलाई तान्त्रिक विधि अनुसार पूजा गरी मत्स्येन्द्रनाथको न्यास (ज्यान) त्यसभित्र राखिन्छ । मूर्तिको रंगरोगन अवधिभरि भक्तजनहरूले उक्त कलशलाई नै मत्स्येन्द्रनाथको रुपमा पूजा गर्ने गर्छन् ।

शुक्रवार राति विधिपूर्वक पूजाआजा गरी मूर्तिमै पुनः न्यास प्रतिष्ठापन गरे पश्चात आसनमा विराजमान गराइएको हो ।

यसपछि अब यही आउँदो चैत्रकृष्ण अष्टमिका दिन श्री मत्स्येन्द्रनाथको रथयात्रा गरिनेछ ।

सेतो मत्स्येन्द्रनाथको मन्दिर भने अहिले जीर्णोद्धार गरिरहेका कारण मूर्तिलाई मन्दिर अगाडिको दिगीछेँमा राखिएको छ । मन्दिर जीर्ण अवस्थामा रहेकोले नेपालस्थित भारतीय दूतावासको सहयोगमा जीर्णोद्धार भइरहेको छ । तर जीर्णोद्धार कार्य अत्यन्त सुस्त गतिमा चलिरहेका कारण जनबहालका पुजारी एवं स्थानीय जनता भने असन्तुष्ट भइरहेको बुझिएको छ । 

श्री आर्यावलोकितेश्वर सेतो मत्स्येन्द्रनाथ (जनबहाःद्यः) लाई मन्दिरमा विधिपूर्वक विराजमान गर्दाका केही तस्बिरः