सगरमाथा जलविद्युतको आईपीओमा आजदेखि आवेदन खुला, क कस्ले भर्न पाइन्छ ?

काठमाडाैं, ५ माघ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ।

स्थानीय बासिन्दाहरुले उक्त सो आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ भने ढिलोमा फागुन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *