प्रेमप्रसादको आत्मदहबाट गम्भीर भएर पाठ सिकौँः उपमेयर डंगोल

काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यको घटनाबाट पाठ सिकेर गम्भीर ढंगले अघि बढ्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो उल्लेख गर्नुभएको हो ।

मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएका इलामको सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्यको आज कीर्तिपुर अस्पतालमा उपचारकै सिलसिलामा बिहान ५ बजे निधन भएको थियो । उहाँको निधनप्रति शोक व्यक्त गर्दै उपमेयर डंगोलले लेख्नुभएको छ– ‘सबै भन्दा पहिला उहाँको निधनमा हार्दिक श्रद्धाभाव व्यक्त गर्दै दुःखले व्याकुल उहाँका परिवार र आफन्तप्रति समवेदना प्रकट गर्दछु ।’

उहाँले संसद भवन अगाडि नै भएको त्यस्तो दुःखद् घटनाले दुःखी बनाएको पनि उल्लेख गर्नुभएको छ । ‘काठमाडौं महानगरपालिकाको उपमेयरको जिम्मेवारीमा रहेको हैसियले पनि मैले यो घटनालाई निकै गम्भीर र पीडादायी घटनाका रुपमा लिएको छु,’ उहाँले भन्नुभएको छ, ‘काठमाडौं महानगरपालिका मात्रै यस्तो पालिका हो । यहाँ ७७ जिल्लाबाटै आफ्नो सुन्दर भविश्यका इन्द्रेणी सपनाहरु बोकेर आइरहेका हुन्छन् । सूर्योदयको जिल्ला इलामबाट काठमाडौंसम्म इन्द्रेणी सपना बोकर आएका एक युवाले सबै आशाहरुलाई निरासामा बदलेर आत्मदह गर्ने खवर त्यसै पनि पीडादायी र व्याकुल बनाउने खबर हो ।’

काठमाडौं महानगरपालिका मात्रै यस्तो पालिका हो । यहाँ ७७ जिल्लाबाटै आफ्नो सुन्दर भविश्यका इन्द्रेणी सपनाहरु बोकेर आइरहेका हुन्छन् । सूर्योदयको जिल्ला इलामबाट काठमाडौंसम्म इन्द्रेणी सपना बोकर आएका एक युवाले सबै आशाहरुलाई निरासामा बदलेर आत्मदह गर्ने खवर त्यसै पनि पीडादायी र व्याकुल बनाउने खबर हो

उहााले यस्तो दुखद् घटनालाई राजनीतिक आग्रह–पूर्वाग्रहको रङ पोतेर, एकअर्कालाई दोषारोपण गरेर उम्किने छुट हामी कसैलाई नभएको पनि उल्लेख गर्नुभएको छ । ‘अहिले मुलुकमा अनुभवले खारिएका दल र नेतासँगै मुलकको समृद्धिका लागि अदम्य आँट बोकेर आएका युवा र नयाँ राजनीतिक दल नीति, निर्माण र नेतृत्व तहमा पुगेको अवस्था छ,’ उहाँले भन्नुभएको छ, ‘नयाँ पुस्तामा आशाको दियो बाल्दै गरेका बेला प्रेमप्रसादहरुको आत्मदहले राजनीतिक दलहरु मात्रै होइन, राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि र मुलुकको समृद्धिको सपना बोकिरहेका हामी हरेक नेपालीले थप गहन र जिम्मेवार भएर सोच्नुपर्ने बेला भएको छ ।’

उहाँले आत्मदह कसैले पनि लहडमा गरेको हुँदैन भन्दै प्रेमप्रसादको आत्मदहलाई एक नागरिकले गरेको कठोर निर्णयका रुपमा मात्रै बुझ्नु नहुने उल्लेख गर्नुभएको छ । ‘उहाँको मृत्यु केबल मृत्यु मात्रै पनि होइन । ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको महाअभियानमा जुटिरहेका हाम्रा लागि पनि उहाँको मृत्यु एउटा पाठ बनेको छ,’ उहाँले भन्नुभएको छ, ‘यो दुखद् घटनाबाट पाठ सिक्दै विगतमा भएका कमजोरीलाई पनि सुधार गर्दै हामी जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र सरोकारवाला निकायले थप सच्चिनुको विकल्प छैन । यो घटनाबाट अब पनि नसच्चिए कहिले सच्चिने ? यो घटनाबाट अब पनि पाठ नसिके कहिले सिक्ने ?’

उहाँल एकजना प्रेमप्रसादको मृत्युबाट पाठ सिक्दै हजारौँ प्रेमप्रसादहरुहरुलाई यस्तै गुम्सिएका पीडाहरुबाट मुक्त बनाउने महाअभियानमा सबैलाई लाग्न आवश्यक छ भन्नुभएको छ । ‘हामीले विगतका हाम्रा कमिकमजोरीलाई सच्याएर आशाको दियो बाल्न जरुरी छ,’ उहाँले भन्नुभएको छ ।