झडपपछि लुम्बिनीमा मोरारी बापूको कार्यक्रम सञ्चालन गर्ने सहमति
काठमाडौं, २४ माघ । भारतका हिन्दू धार्मिक गुरु मोरारी बापूले आजबाट लुम्बिनी परिसरमा शुरु गरेको राम कथा वाचन कार्यक्रम सञ्चालन गर्न दिने विषयमा सहमति भएको छ ।
मोरारी बापूको उक्त कार्यक्रमलाई बौद्धमार्गी समुदायले विरोध प्रकट गरेपछि लुम्बिनी क्षेत्रमै तनाव उत्पन्न भएको थियो । यस क्रममा हिजो लुम्बिनीको परसा चोकमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि आक्रमण भएपछि स्थिति झन जटिल मोडमा पुग्ने अवस्था आइसकेको थियो ।
यसै क्रममा आज विभिन्न सरोकारवाला समूहहरू बीच लुम्बिनी विकास कोषको कार्यालयमा भएको बैठकपछि कथा वाचन कार्यक्रम सञ्चालन गर्न दिने बारे चार बुँदे सहमति भएको थियो ।
सहमतिमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापूको कथा वाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनका विषयमा लुम्बिनी विकास काषेले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरित नहुने गरी कार्यविधि बनाउने बारेमा पनि सहमति भएको छ ।
त्यस्तै हिजो परसा चोकमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्ने विषयमा पनि सहमति भएको छ ।
सहमतिपत्रमा नेपाल आदिवासी जनजाति महासंघ, कथा वाचन विरुद्ध संघर्ष समिति, कार्यक्रमका आयोजक र लुम्बिनी विकास कोषका पदाधिकारीहरूले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिपछि अब उप्रान्त कथा वाचन कार्यक्रम विरुद्ध कुनै प्रदर्शन नगर्ने र कथा वाचन कार्यक्रम पनि बुद्ध धर्मको मर्म विपरित नहुने गरी सञ्चालन गर्ने भएको छ ।
लुम्बिनीमा ‘जय श्रीराम’ को नारा
हिजो लुम्बिनीको परसा चोकको प्रदर्शनमा भएको झडप पछि कार्यक्रम आयोजक मोरारी बापूका कार्यकर्ताहरूले सडकमै बसेर ‘जय श्रीराम’ भनेर नाराबाजी गरेका थिए ।
उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीय नेपालीहरूलाई ‘तिमीहरु को हौ ? लुम्बिनी हाम्रो पनि हो’ भनी विवाद पनि गरेका थिए ।
आयोजक कार्यकर्ताहरू अधिकांश हिन्दी भाषी थिए ।
स्मरणीय छ, गएको केही समयदेखि भारतमा पनि सत्तारुढ दल भारतीय जनता पार्टीका कार्यकर्ता एवं समर्थकहरूले देशभरि नै ‘जय श्रीराम’ को नारा लगाउँदै अन्य धर्मावलम्बीहरूमाथि आतंक मच्चाउने कार्य गर्दै आइरहेको छ ।