नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व छः उपमेयर डंगोल

काठमाडौं, फागुन ७ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रजातन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले व्यक्त गरेको शुभकामना सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख छ ।

‘विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको हो,’ उहाँले भन्नुभएको छ, ‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला २००७ सालको क्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षा लाई मूर्तरूप दिनु पर्दछ ।’

उहाँले यस्तै सामाजिक न्याय, समानता, शान्ति तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउदैं लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा मात्रै प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्दछ भन्नुभएको छ । ‘प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः मंगलमय शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ ।
सुनिता डंगोल