लुम्बिनीस्थित मायादेवी मन्दिरमा ५० तोलाको स्वर्ण लेपन सहित गजुर जीर्णोद्धार

काठमाडौं, १० फागुण । बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरको गजुर जीर्णोद्धार गरी पुनस्र्थापना गरिएको छ । गएको एक वर्ष अघिदेखि ढल्किरहेको उक्त गजुर खिया लागेर समेत नष्ट हुन थालेको थियो ।

यसै क्रममा थाइल्याण्डका दुई बौद्ध अनुयायीहरूले आफ्नै खर्चमा उक्त गजुर जीर्णोद्धार गर्नुका साथै गजुरमा स्वर्ण लेपन पनि गरिदिएको हो । जीर्णोद्धार र स्वर्ण लेपन पछि गजुर अझ आकर्षक देखिएको छ ।

लुम्बिनी विकास कोषका अनुसार थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र लर्टट्रथ आक्रापास पोङगले यसको लागि आर्थिक सहयोग गर्नुभएको हो ।

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार अहिले गजुरको जीर्णोद्धार मात्र गरिएको होइन, गजुर स्थापना गर्दा भएका केही सैद्धान्तिक त्रुटिलाई समेत सच्याउने काम भएको छ ।

यसको लागि गजुर जीर्णोद्धारको जिम्मा पाटनका कलाकार साजन शाक्यलाई दिइएको थियो । साजन शाक्यले स्वयम्भू महाचैत्यको जीर्णोद्धार कार्यमा पनि काम गरिसक्नुभएको छ । उहाँले लुम्बिनीको गजुरलाई पनि स्वयम्भूकै गजुर सरह जीर्णोद्धार गर्नुभएको छ ।

लुम्बिनीको मायादेवी मन्दिरमा पनि स्वयम्भू महाचैत्यमा जस्तै त्रियोदश भुवन सहितको गजुर स्थापना गरिएको छ । तर गजुर स्थापना गर्दा केही सैद्धान्तिक त्रुटिहरू भएका रहेछन् । जस्तो गजुरलाई खडा पार्न आठ वटा अंकुशहरू राख्नुपर्ने नियम छ । यसमा चार वटा मात्रै राखिएको रहेछ । अहिले त्यसलाई सच्याएर आठवटै अंकुश राखिएको छ । यसले गजुर अझै बलियो भएको छ ।

त्यस्तै गजुर भित्रको यष्ठी (लिङ्गो) लाई त्रियोदश भुवनका चक्काहरूले छुनु हुँदैन भन्ने मान्यता रहेको छ । त्यो छुने गरी नै राखिएको रहेछ । अहिले त्यसलाई पनि कुनै पनि चक्कालाई नछुने गरी राख्ने काम भएको छ ।

गजुरको बाहिरी भागलाई अहिले सुनको जलप पनि लगाइएको छ । यसको लागि ५० तोला सुन खर्चिएको बताइएको छ । गजुरमा पहिले पनि सुनको जलप त लगाइएको थियो, पछि त्यसैमाथि पहेँलो रंग पनि लगाइदिएको रहेछ । अहिले सुनकै मात्र जलप लगाइएकोले गजुर अझ आकर्षक देखिएको छ ।

गजुर जीर्णोद्धार र स्वर्ण लेपनको लागि गत साढे दुई महिनादेखि काम भइरहेको थियो । गएको बुधवार दाता मालिनोङ्गे बुद्धजन्मस्थल लुम्बिनी आएर थेरवादी, महायानी र वज्रयानी तिनवटै यानका पुजारीबाट पूजा गरेपछि गजुर स्थापना गरिएको हो ।

गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन) को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

बुद्धिष्ट अभियानकर्मी एवं युवा बौद्ध समूहका केन्द्रीय सदस्य राजा शाक्यका अनुसार दाताहरुले बुद्धप्रति श्रद्धा राखेर उक्त गजुर स्थापना गरेका हुन् । आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब रु. ६० लाख लगानी लागेको शाक्यले बताउनुभयो ।

उहाँ दाताहरूले यस अघि कुशिनगर र बाधगयाका बौद्ध धार्मिकस्थलमा पनि सहयोग गरिसक्नुभएको छ ।