प्रचण्डले अबको सहमति चाहिँ पालना गर्नुहोला भन्ने के ग्यारेन्टी छ ?

काठमाडौं, १३ फागुन । देश बदल्ने कसम खाएर राजनीतिमा छाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश त बदल्न सक्नुभएन, तर सत्तासम्म पुग्ने राजनीतिक गठबन्धनहरू भने धेरै पटक बदल्नुभएको छ ।
गत मंसिर ४ गते सम्पन्न भएको संघ र प्रदेशसभाको चुनावसम्म उहाँ जुन गठबन्धनमा हुनुहुन्थ्यो, चुनाव पछि त्यो गठबन्धन बदल्नुभयो । त्यो चुनावमा बदलेको गठबन्धन अहिले राष्ट्रपतिको चुनावसम्म आइपुग्दा फेरि बदलेर अर्को गठबन्धन बनाउनुभएको छ ।
उहाँको यो गठबन्धन र समीकरण बदलिरहने प्रवृत्तिका कारण नेपाली राजनीति भने बारम्बार आक्रान्तको शिकार बन्दै गइरहेको छ ।
यो समीकरण बदल्ने खेलमा उहाँले राजनीतिका त्यस्ता हस्तीहरूमाथि धोका गर्नुभएको छ जसले उहाँको डुबिसकेको राजनीतिक नाउलाई पुनः किनारसम्म ल्याउन काँध थापेका थिए । चुनाव जित्न उहाँलाई शेरबहादुर देउवाले काँध थाप्नुभएको थियो भने चुनाव पछि प्रधानमन्त्री बन्न केपी ओलीले काँध थाप्नुभएको थियो । संकटमा काँध थापेका दुवै नेताहरूलाई उहाँले यसरी धोका गर्नुभयो मानौं राजनीति भनेकै धोकाघडीको अटुट श्रृङ्खला मात्रै हो ।
प्रधानमन्त्री प्रचण्डले अहिले बनाउनुभएको नयाँ गठबन्धनलाई धेरैले उहाँले गर्नुभएको ‘कोर्स करेक्सन’ भनी स्वागत पनि गर्नुभएको छ । उहाँको सही गठबन्धन त यो नै हो, बीचमा केही समय बरालिएर ओलीतिर लागेका हुन् भन्नेहरू पनि छन् । तर कोर्स करेक्सन गरे पनि यो भन्दा अघि गलत कोर्सतिर जानुका लागि कुनै आत्मालोचना भने उहाँले गर्नुभएको छैन ।
उहाँले न देउवाको गठबन्धन छोडेर ओलीको गठबन्धनतिर लाग्नुको ठोस कारण दिनुभएको छ, न अहिले ओलीको गठबन्धन छोडेर पुनः देउवाको गठबन्धनमा लाग्नुको कुनै कारण दिनुभएको छ ।
राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति बनाउने नारा उहाँले दिनुभएको थियो । तर अन्तमा निर्णय भने ‘कांग्रेसले जसलाई भन्यो उसैलाई राष्ट्रपति बनाउने’ भन्ने गर्नुभयो । कहाँ गयो राष्ट्रिय सहमतिको नारा ? अब कांग्रेसले रेखा थापाकै नाम अघि सारे पनि त्यसलाई मान्न प्रचन्न बाध्य छ ।
यस अघि प्रचण्डले आफ्ना पुराना मित्र डा. बाबुराम भट्टराईलाई पनि राष्ट्रपति बनाउने आश्वासन दिनुभएको थियो । राष्ट्रपतिको सम्भावना बढे पछि डा. भट्टराई पनि एमालेसँगको गठबन्धन भत्काउन ‘अण्डर करेन्ट’ सक्रिय हुनुभएको थियो । जानकार सूत्रहरूका अनुसार राष्ट्रपतिका रुपमा कांग्रेसले नै डा. भट्टराईको नाम प्रस्ताव गर्ने योजना समेत अघि बढिसकेको थियो । तर प्रधानमन्त्री प्रचण्डले अन्तमा त्यसलाई पनि छोड्नुभयो ।
अहिले राष्ट्रपति चुनावका सन्दर्भमा एमालेसँग गठबन्धन छोड्नु पर्नाको कुनै कारण उहाँले बताउनुभएको छैन । राष्ट्रपतिमा दावी गर्नु एमालेको कुनै नाजायज माग थिएन । त्यो त उहाँले दिन्छु भनेकै कुरा थियो । अहिले नदिनका लागि कुनै ठोस कारण उहाँले अगाडि ल्याउनुभएको छैन ।
एमालेसँगको गठबन्धन तोडेर उहाँ पुनः कांग्रेसको गठबन्धनमा लाग्नुभएको छ र आपूmले डेढ वर्ष प्रधानमन्त्री चलाएर माधव नेपाललाई सत्ता हस्तान्तरण गर्ने सहमति गर्नुभएको छ । अब उहाँले यो सहमति चाहिँ पालना गर्नुहोला भन्ने के ग्यारेन्टी छ ? गएको तीन महिनाभित्र उहाँले जे जति कर्तुतहरू देखाउनुभयो, यसका कारण उहाँ न देउवाका लागि विश्वसनीय हुनुभयो, न नेपालका लागि ।
नेपाललाई सत्ता छोड्नुपर्ने दिन उहाँले फेरि एमालेतिरै आँखा नलगाउला भनेर कसरी विश्वास गर्ने ? उहाँको ढुलमुले राजनीतिक चरित्रलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरूले अब यो प्रश्न गर्न थालिसकेका छन् ।