कोसी प्रदेशमा कांग्रेस–माओवादीको पनि समर्थन, संसदमा के–के भने दुई दलले ?

विराटनगर, १७ फागुन । नेकपा (एमाले) ले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव बहुमतले पारित हुने भएको छ । प्रदेश १ को नाम कोसी प्रदेश राख्ने प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर राना र समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई रहनु भएको थियो ।

तर, समर्थकमा रहनु भएका कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ता लिनुभएको थियो । यद्यपि, पूर्व सहमति अनुसार कांग्रेसले कोसी प्रदेशमै मत हाल्ने संभावना रहेको छ । नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न एमालेले गरेको प्रस्तावमा समर्थन जनाएको छ ।

प्रदेश सभा वैठकमा बोल्दै कांग्रेस प्रदेश १ का प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशवासीको भावना समेटिने बताउनुभयो । राईले एमालेले प्रस्ताव गरको कोसी प्रदेश बहुमतले पारित गर्नुपर्ने पनि बताउनुभयो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई कोसी प्रदेशको प्रस्तावमा मतदान गर्न आग्रह समेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा नाम राख्नुपर्ने अडान पार्टीको भएपनि अहिलेको ताजा जनादेशको अङ्क गणित त्यसको पक्षमा नभएको भन्दै नामको विषयमा माओवादी बाधक नहुने बताउनुभयो ।

‘संसदको ठूलो संख्याले स्वीकार गरेको नाममा हाम्रो समर्थन रहन्छ’, उहाँले भन्नुभयो, ‘फेरि चुनावमा प्रदेशका जनताले हामीलाई दुई तिहाइ बहुमत दिए भने पहिचानको आधारमा नाम राख्छौं ।’ माओवादीले नेकपा एमालेले टेबुल गरेको कोसी प्रदेशमा समर्थन जनाएको छ ।

कांग्रेस र माओवादीले समेत समर्थन गरेपछि दुईतिहाई मतका साथ कोसी प्रदेश पारित हुने भएको हो । प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर सभामुखले २ घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *