कोरोनाभरि खाली भएको लुम्बिनीमा यो वर्ष पुगे ६० देशका श्रद्धालु

लुम्बिनी, २० फागुन । बुद्ध जन्मभूमि लुम्बिनीमा कोरोना महामारीका बेला शून्यमा झरेको पर्यटक एवं श्रद्धालुहरूको संख्या अहिले क्रमशः बढ्न थालेको छ । लुम्बिनी आउने पर्यटक एवं श्रद्धालुहरूको संख्या अब बिस्तारै कोरोना अघिकै स्थितिमा पुग्ने क्रम बढ्दो छ ।

सन् २०२३ को पहिलो दुई महिना (जनवरी र फ्रेबुअरी) मा लुम्बिनी पुगेका पर्यटन÷श्रद्धालुहरूको चापले यो संकेत दिएको देखिन्छ ।

यो दुई महिनामा लुम्बिनी पुग्ने स्वदेशी र विदेशी श्रद्धालुहरूको संख्या १ लाख ६५ हजारभन्दा बढी रहेको छ ।

यस वर्षको शुरुका दुई महिनामा लुम्बिनी पुग्ने नेपाली श्रद्धालुहरूको संख्या १ लाख ९ हजार १९३ रहेको छ । त्यस्तै भारतीय श्रद्धालुहरूको संख्या ३६ हजार ६२४ रहेको छ । तेस्रो मुलुकबाट आउने श्रद्धालुहरूको संख्या भने १६ हजार ५०९ पुगेको छ ।

लुम्बिनीमा सबैभन्दा बढी पुग्ने श्रद्धालुहरू नेपाली नै छन् भने त्यसपछि भारतीय श्रद्धालुहरूको नाम आउँछ । भारत पछि सबैभन्दा बढी श्रद्धालुहरू आउने देश म्यान्मार, थाइल्याण्ड, द. कोरिया, भियतनाम, श्रीलंका, चीन र जापान रहेको देखिन्छ ।

त्यसो त यो वर्षको शुरुका दुई महिना भारत लगायत विश्वका ६० देशका श्रद्धालुहरू लुम्बिनी पुगिसकेको देखिन्छ ।

यो भन्दा अघि सन् २०१९ मा भारत बाहेक ११५ देशका श्रद्धालुहरू लुम्बिनी पुगी बुद्ध जन्मभूमिको दर्शन गरेका थिए । उक्त वर्ष भारत बाहेकका ११५ देशबाट कुल १ लाख ७४ हजार १५ जना श्रद्धालुहरू लुम्बिनी पुगेका थिए ।

लुम्बिनीमा हरेक वर्ष नेपाली, भारतीय र अन्य तेस्रो मुलुक गरी सरदर १५ लाख श्रद्धालुहरू पुग्ने गरेको पाइन्छ । सन् २०१८ र २०१९ मा लुम्बिनी पुग्ने श्रद्धालुहरूको संख्या १५ लाख थियो । सन् २०२० मा कोरोना महामारी फैलिए पछि लुम्बिनी पुग्ने पर्यटकको संख्या पूरा वर्षभरि साढे २ लाखमा झरेको थियो । कोरोना महामारीका कारण करिब ६ महिना लुम्बिनी उद्यान नै बन्द गरिएको थियो ।

लुम्बिनीमा बुद्ध जन्मभूमि दर्शन गर्न वार्षिक करिब १२ लाख नेपाली श्रद्धालुहरू पुग्ने गरेको पाइन्छ भने विदेशीहरूमा भारतीय श्रद्धालु सबैभन्दा बढी पुगेको देखिन्छ । भारतीय श्रद्धालुहरू वार्षिक साढे २ लाख हाराहारी लुम्बिनी पुग्ने गरेको पाइन्छ ।

लुम्बिनीमा अमेरिका लगायत युरोपबाट बेलायत, फ्रान्स र जर्मनीबाट सबैभन्दा बढी श्रद्धालु आएको पाइन्छ । सार्क मुलुकका सबै देशहरूबाट श्रद्धालुहरू आएको देखिन्छ भने माल्दिभ्सबाट कुनै कुनै वर्ष आकलझुकल मात्रै श्रद्धालु पुगेको देखिन्छ ।

यस बीच लुम्बिनीमा विभिन्न देशका विशिष्ट पाहुनाहरूले पनि भ्रमण गर्नुभएको जानकारी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ‘मैत्री न्यूज’ लाई दिनुभयो ।

लुम्बिनी आउने विदेशी श्रद्धालुहरू लुम्बिनी उद्यान लगायत विभिन्न देशका बौद्ध विहारहरूको दर्शन गर्नुका साथै सिद्धार्थ गौतमको ऐतिहासिक कपिलवस्तु दरवार पनि अवलोकन गर्न जाने गर्दछन् ।