‘ठमेल’ का निर्माता चकंद्यःको जात्रा

काठमाडौं, २४ फागुन । काठमाडौंको ठमेल क्षेत्रमा हिजो चकंद्यःको जात्रा सम्पन्न भयो । होली पूर्णिमाका दिन शुरु हुने यो जात्रा दुई दिन सञ्चालन हुन्छ ।

यसमा ठमेलको थँबहिलमा राखिएको चकंद्यःको मूर्तिलाई बाहिर निकाली ठमेलदेखि असन चोकसम्म परिक्रमा गराइन्छ ।

चकंद्यःको जात्रा गरिने भएकोले होली पूर्णिमालाई काठमाडौंको माथिल्लो भेगमा ‘चकं पुन्हि’ भन्ने गरिन्छ ।

चकंद्यः को हुन् ?

चकंद्यः मूलतः कुनै देवता नभई एक सर्वसाधारण मानव नै हुन् । उनको बारे प्रचलित किंवदन्ती अनुसार उनी त्यतिबेला काठमाडौंदेखि तिब्बतको ल्हासासम्म गई व्यापार गर्ने एक व्यापारी हुन् ।

उनको स्थानीय नाम सिंह सार्थबाह हो ।

लिच्छविकालमा व्यापारीहरू समूह बनाई ल्हासा जाने र व्यापार गर्ने कार्य गर्दथे । व्यापारीहरूको त्यस्तो समूहमा एक जना अनुभवी व्यापारी नाइकेका रुपमा रहेको हुन्छ । सिंह सार्थबाह पनि त्यस्तै एक व्यापारी नाइके हुन् ।

उनले व्यापारबाट कमाएको सम्पत्तिबाटै हालको ठमेल क्षेत्रमा एउटा छुट्टै बिहार बनाएका थिए । त्यसलाई ‘थम बहिल’ भनिन्छ । त्यही ‘थम बहिल’ लाई पछि ‘थँबही’ भन्न थालियो ।

‘थँबही’ नै अपभ्रंश हुँदै अहिलेको ‘ठमेल’ बनेको हो ।

अतः सिंह सार्थबाहलाई ‘ठमेल’ को निर्माता पनि भन्न सकिन्छ ।

थँबही तत्कालीन भारतको प्रख्यात बौद्ध अध्ययन केन्द्र विक्रमशील विश्वविद्यालयको शाखाको रुपमा स्थापना भएको थियो । त्यसैले यसलाई ‘विक्रमशील महाविहार’ पनि भनिन्छ ।

यो विहारमा विक्रमशील विश्वविद्यालयका प्राध्यापक अतिसा पनि बास बसी प्राध्यापन गरेको इतिहास पाइन्छ । तिब्बतमा बुद्ध धर्मलाई शुद्धीकरण गरी आजको अवस्थामा ल्याउने कार्य अतिसाले नै गरेको मानिन्छ ।

थँबहिलको एउटा मौलिक विशेषता के हो भने काठमाडौं उपत्यकाका सबै बहाः र बहिलहरुको सञ्चालन शाक्य वज्राचार्य समुदायले गरेका हुन्छन् । थँबहिलको सञ्चालक भने प्रधान जातका समुदाय हुन् । अन्य ठाउँका प्रधानहरू हिन्दूमार्गी भए पनि थँबहीका प्रधानहरू भने बौद्धमार्गी हुन् ।

चकंद्यःलाई यिनै प्रधान समुदायका पूर्खा मानिन्छ । उनले यति धेरै महान कार्य गरेका कारण सिंह सार्थबाहलाई भगवानकै रुपमा मान्यता दिई ‘चकंद्यः’ नामाकरण गरिएको हो । होली पुन्हि चकंद्यःको जन्मदिन हो । त्यसैले यो दिन उहाँको जात्रा गर्ने चलन रहँदै आएको छ ।