भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा उत्रिएको कक्रोच जनता पार्टी र नेपालमा हिंसात्मक बनेको त्यो जेनजी आन्दोलन

काठमाडौं, २४ जेठ । नेपालमा भदौ २३ गते जेनजीको नाम दिएर गरेको आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत कमजोरीविरुद्धको त्यो आन्दोलनको नेतृत्व कस्ले र कसरी गर्ने भन्ने कुनै योजना नहुँदा नेपालमा भदौ २३ को आन्दोलनमा मानवीय क्षति भएको थियो ।

भदौ–२३ को मानवीय क्षतिका विरुद्ध भदौ २४ मा भएको हिंसात्मक आन्दोलनका कारण फेरि नेपालका संसद भवन, सर्वोच्च, सिंहदरबार र सयौँ सरकारी संरचना खरानीमा परिणत भएका थिए ।

अहिले ठ्क्कै छिमेकी मुलुक भारतमा पनि युवाहरु त्यहाँका विकृति, विसंगतिका विरुद्ध समूहबन्दी भएर आन्दोलनमा उत्रिएका छन् । केही समय अघि युवाहरूलाई कक्रोच, परजीवी जस्ता टिप्पणी भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाइका बेला गर्नुभएको थियो । उहाँको त्यहि टिप्पणीपछि एकजुट भएको युवा समूह अहिले भारतीय सरकारका लागि निकै भारी बन्ने संकेत देखिएको छ । तर, त्यो आन्दोलन नेपालको जस्तो हिंसात्मक भने देखिएको छैन । यो सकारात्मक पक्ष हो ।

त्यसको एउटै कारण थियो । त्यहाँ सुझबुझपूर्ण नेतृत्वले अभियानको नेतृत्व गरिरहेको थियो । प्रर्दशनको नेतृत्वमा रहनु भएका अभिजित दीपकेले बारम्बार आफ्नै समर्थकहरूलाई संयम हुन गरेको आग्रहका कारण पनि त्यहाँ अप्रिय घटना भएन ।

केही समय अघि सूर्यकान्तको सो टिप्पणीपछि अमेरिकामा अध्ययनरत् दीपकेले कक्रोच जनता पार्टी (सीजेपी) नाम दिएर मे १६ मा ‘एक्स’ मा एउटा गुगल फर्म पोस्ट गरेपछि त्यो अभियानले थप चर्चा पाएको थियो । भारतमा सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी (बीजेपी) जस्तै सुनिनेगरी चलाएको यो अभियानले अहिले भारतमा तहल्का पिटिरहेको छ । त्यसको केन्द्रमा अहिले अभियानका सुरुवातकर्ता दिपकेकै चर्चा बढी देखिएको छ ।

सामाजिक सञ्जालमा डढेलोझैँ फैलिएको यो अभियान २०८३ को जेठ २३ गतेसम्म आइपुग्दा सडक आन्दोलनका रुपमा शसक्त बनेको छ । दिपके पनि अमेरिकाबाट नयाँ दिल्ली उत्रिनु भएको छ । भारतमा चिकित्सा शिक्षाको साझा प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाले देशव्यापी रूपमा चर्को रूप लिइरहेको ‘ककरोच जनता पार्टी’का मुख्य अभियन्ता दिपकेको सानदार दिल्ली प्रवेशलाई पनि विभिन्न अर्थबाट आंकलन गर्न थालिएको छ ।

दीपके नयाँ दिल्ली विमानस्थलमा ओर्लिदै गर्दा हातमा उहाँले बोकेको भारतीय संविधान निर्माता डा. आम्बेडकरको ‘आत्मकथा’ पुस्तकले पनि धेरैको ध्यान खिचेको छ । दिपके विमानस्थलदेखि जन्तर–मन्तरको प्रदर्शनसम्म त्यहि पुस्तकलाई प्रेम र गर्वका साथ छातीमा टाँसे पुग्नुले पनि त्यसको धेरै अर्थबाट विश्लेषण सुरु भएको छ र धेरैको ध्यान खिच्न सफल भएको छ । ‘नीट’ परीक्षाको पेपर लिक भएको घटना चर्को रूपमा उठिरहेको र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन चर्किरहेका बेला दीपके अमेरिकाबाट स्वदेश फर्किएर सडक प्रदर्शनको नेतृत्वमा सहभागी हुँदै गर्दा धेरैले अप्रिय घटना घट्न सक्ने अनुमान गरेका थिए । तर, ठिक त्यस विपरीतका दृष्यहरु जन्तर–मन्तरको प्रदर्शनमा देखिए ।

सुरुमा दीपकेको आह्वानसँगै केही दिनमै सीजेपीका एक लाख ६० हजारभन्दा बढी सदस्य र इन्स्टाग्राममा २० लाख फलोअर्स भएका थिए । त्यसपछि सरकारले समेत सो अभियानलाई निस्तेज पार्न भूमिका खेलको थियो । अभिजित दीपके विमानस्थलमा ओर्लिदैँ गर्दा उनका विरुद्धमा ‘काला हिट’ अर्थात गोदरेज कम्पनीले लामखुट्टे, झिँगा र अन्य उड्ने कीराहरूलाई तुरुन्तै मार्नका लागि विशेष रूपमा तयार पारेको ‘एरोसोल इन्सेक्टिसाइड’ को उपमा दिदैँ अपमानको प्रयास गरेका कारण पनि प्रर्दशनस्थलसम्म यो अभियान सशक्त बनेर द्वन्द्व हुन सक्ने त्रास पनि उत्तिकै थियो । तर, त्यस्ता अप्रिय कुनै पनि घटना नभई जन्तरमन्तरमा प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गरे भने जन्तर–मन्तरको वरिपरि ब्यारिकेडहरू राखेर तैनाथ बनेका प्रहरी अधिकारीहरुले समेत बलप्रयोग गर्नुपर्ने अवस्था देखिएन ।