मिटरब्याज पीडितहरूलाई प्रहरीले बालुवाटार नजिकै राेकेपछि भद्रकालीतर्फ फर्कदैँ

काठमाडौं, १४ चैत्र । बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटार नजिकै टंगालमा रोकेको छ।
उनीहरू खुलामञ्चबाट मार्चपास गर्दै बालुवाटार पुगेका थिए। बालुवाटारबाट मार्च पास गर्दै फेरी पीडितहरू अहिले भद्रकालीतर्फ फर्कदैँ छन् ।
मिटरब्याज पीडितहरुसँग वार्ता गर्न गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र काठमाडौंका सिडिओ घनश्याम उपाध्याय टंगाल पुगेका थिए।
प्रधानमन्त्रीसँगै भेटेर न्याय माग्ने भन्दै बिहान रत्नपार्कबाट हिँडेका पीडितहरुलाई टंगालस्थित पिपलबोट छेउमा प्रहरीले रोके । बालुवाटार निषेधित क्षेत्रमा पर्ने भन्दै प्रहरीले उनीहरुलाई अघि जान दिएनन्।
गत राति मातातीर्थमा बास बसेका पीडितहरुलाई गृहमन्त्रालयका प्रवक्ताले बासस्थानमै पुगेर सरकारले न्याय दिने भन्दै घर फर्कन आग्रह गरेका थिए। तर, उनीहरु सोमबार दिउँसो खुल्ला मञ्चमा आइपुगे। नगरप्रहरीले उनीहरुलाई खुल्लामञ्चभित्र प्रबेश गर्न दिइएन ।
खुल्लामञ्चभित्र प्रबेश गर्न नदिएपछि सोमबारको रात पीडितहरुले सडकमै सुतेर बिताए र बिहानै प्रधानमन्त्रीलाई भेट्ने भन्दै बालुवाटारतर्फ लागे।
बालुवाटार निषेधित क्षेत्रमा भएकाे भन्दै प्रहरीले उनीहरुलाई धर्ना बस्न नदिएपछि पिडितहरू भद्रकालीतर्फ फर्किएका छन्।
गृह मन्त्रालयका प्रवक्ता शर्माले पीडितहरुलाई न्याय दिन कानुन बनाउने प्रयास भइरहेको बताएका छन्।