आफैँले बोलाएको बैठकमा प्रधानमन्त्री प्रचण्ड र देउवा किन हुनुभयो अनुपस्थित ?

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ९ बजे प्रमुख प्रतिपक्षी दलका नेता, एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री , सभामुख र कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको थियो ।

तर, बैठकका लागि भनेर सभामुखसहित सबै नेताहरु समयमै बालकोट पुग्नु भएको थियो । तर, ९ः२० बजेतिर प्रधानमन्त्रीले प्रचण्डले टेलिफोन सम्पर्क गर्दै बैठक बस्न नसक्ने भन्नुभएको बैठकका लागि बालकोट पुग्नु भएका एमालेका सांसद एवं सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

‘उहाँ र काङ्ग्रेस सभापति बैठकमा उपस्थित हुनुभएन । संसदमा बिचाराधिन यतिधेरै महत्त्वपूर्ण बिधेयक, संयुक्त समिति निर्माण लगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अघि बढ्नुपर्ने अवस्था छ,’ बर्तौलाले भन्नुभयो, ‘प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि सदैव तयार छ । तर, सरकारको नेतृत्व भने आफैंले बैठक बोलाएर आफैं बैठक प्रति उदासीन हुनु र छलफल संवादलाई प्राथमिकता नदिनु दुःखद् विषय हो।’

बर्तौलाले देशका सामु उभिएका ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा पुर्याउन उहाँहरु सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्ने योजनामा हुनुहुन्छ भन्ने देखाएको पनि बताउनुभयो । आजको बैठक प्रधानमन्त्री स्वयंले नै बोलाउनु भएको बर्तौलाले जानकारी दिनुभयो ।