सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दबारे लेखासमिति असन्तुष्ट, सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन

काठमाडौँ, ८ मङ्सिर । मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्काको विषय पेचिलो बनेको छ ।

गत जुन ८ मा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया कात्तिक १६ मा आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला रद्द गरिएको थियो । उक्त आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ (२) बमोजिम बोलपत्र रद्द गरेको जानकारी दिएको थियो । तर,केही समय अघि सो ठेक्का रद्द गरिएपछि समितिमा उजुरी परेको थियो । सोही संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै आवश्यक कागजातहरू ७ दिनभित्र समितिमा उपलब्ध गराइदिन निर्देशन दिनुभएको हो ।

प्रक्रिया, विधि, पद्धति र प्रणाली लोकतन्त्रका आधारभूत नर्म्स भएकाले यसकै आधारमा अघि बढ्नुपर्ने भन्दै समितिले अन्य निकायजस्तो अख्तियार वा अदालत नभई यसको आफ्नै निश्चित कार्यक्षेत्र रहेकाले सोहीअनुसार स्वाभाविक रूपमा चासो लिइने बताएको छ ।

बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विभागीय प्रमुखको हैसियतले प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्ने जिम्मेवारीका साथ आफूले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको जिकिर गर्नुभएको थियो ।

सार्वजनिक खरिद नियमावली संशोधन अनुसार कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएपछि प्रचलित कानुनी अवस्थाको पालना तथा भविष्यमा आउन सक्ने कानुनी र प्रक्रियागत जटिलतालाई दृष्टिगत गरी उक्त बोलपत्र रद्द गर्ने निर्णय गरिएको उहाँको भनाइ थियो ।

बैठकमा समिति सदस्यहरुले आर्थिक प्रस्ताव खोल्ने चरणमा ठेक्दा रद्द गर्नुको औचित्यबारे चासो राखेका थिए । कुनै पनि कारणले आयोजना अलपत्र पार्ने काम गर्न नहुने उनीहरूको भनाइ थियो । सांसद मनिष झाले ७ वर्षसम्म परियोजना अन्योलमा रहेको अवस्थामा परियोजना रद्द गरिए मधेश आन्दोलनमा उत्रिनुबाहेक अन्य विकल्प नहुने चेतावनी दिनुभयो। मधेशमा खेती नै आर्थिक स्रोत रहेकाले त्यसमा खेलबाड वा अल्झाउने काम गर्न नहुने उहाँको भनाइ थियो ।

त्यस्तै सांसद खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्र रद्द गर्नुपर्ने तत्कालीन कारणका बारेमा आयोजनाले प्रष्ट पार्नुपर्ने माग गर्नुभयो । आर्थिक प्रस्ताव नखोलिकनै राज्यलाई दुई–तीन अर्ब घाटा हुने दाबीका बारेमा पनि उहाँले प्रश्न गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *