के मोदी ईनर्जीको आईपीओ भर्नुभयाे ? आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २४ वैशाख । मोदी ईनर्जी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतकाे दरले हुने आउने ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यस मध्ये सर्वसाधारणलाई छुट्टयाईएको जारी पूँजीको १५ प्रतिशत अर्थात ४३ लाख ५० हजार कित्ता गरी ६४ लाख ४५ हजार ६१० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।

त्यस मध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै २ प्रतिशत अर्थात १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख २२ हजार २८० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरी बाँकि रहेको ५९ लाख ९४ हजार ४२० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्गस नेपाल लिमिटेडले कम्पनीलाई आईआरएल डबलबी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ।

कम्पनीले पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ मा रहेको तल्लो मोदी खोलामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना निर्माण गरी २०७८ असोज १४ गतेदेखि व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ।