बागलुङकाे गलकोटमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ, ७ जेठ । पछिल्लो दुई वर्षयता बागलुङकाे गलकोटमा घरमा सुत्केरी गराउने (होमडेलिभरी)को सङ्ख्या शून्य भएकाे छ ।

नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज रूपमा पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा भएकाे हो ।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

सबैभन्दा विकट मानिने वडा नं १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उहाँको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्या घटेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुपर्यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो ।

अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर छन् ।
उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले रु चार हजार पाँच सय प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताउनुभयो ।

‘नगरप्रमुख मातृ तथा पोषण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार आठपटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ । गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोहीअनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउनुहुन्छ ।

बर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनाइएको छ । दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा शिशुको मृत्यु हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।

नगरपालिकाले विसं २०७५ देखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । गलकोट नगरपालिकामा नौवटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् ।