एमाले महासचिव पोखरेलका नजरमा प्रचण्डले भारत भ्रमणमा गरेका यस्ता छन् ६ कमजोरी

काठमाडौं, २१ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आजबाट सुरु संसद वैठकमा संसदको विशेषाधिकार हननको विषय, नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा वंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्तिलगायतका विषय उठाउनु पर्ने बताउनु भएको छ । महासचिव पोखरेलले प्रधानमन्त्री भारत भ्रमणमा जादैँ गर्दा हदम्याद गुज्रिएर निष्कृय बनेको विधेयक मन्त्रीपरिषदको निर्णयका आधारमा राष्ट्रपतिवाट प्रमाणीकरण हुनु संसदको क्षेत्राधिकारको गम्भीर उलंघनको विषय भएको उल्लेख गर्नुभएको छ ।

‘विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसदको हो, सरकारको होइन । त्यसमाथि नयाँ जनादेशवाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्कृय र विवादास्पद विधेयक अनुचित तरिकावाट प्रमाणीकरण गरिनु खेदजनक छ ।’

उहाँले प्रमाणीकरण भएको विधेयक सम्विधानको भावना विपरित भएको उल्लेख गर्नुभएको छ । वैवाहिक अंगिकृतका सन्दर्भमा नेपाल र भारतका बीचमा कम्तिमा समान व्यवस्था हुनुपर्दछ भन्ने नेपाली जनताको चाहना विपरित विधेयक आएको भन्दै उहाँले त्यसको पनि विरोध गर्नुभएको छ ।

‘नेपाली चेलीहरु विहेगरेर भारत जाँदा भारतीय नागरिकताको अधिकार पाउन ७ वर्ष लाग्ने र नेपालमा विवाहसँगै नागरिकता पाउने व्यवस्था राष्ट्रको हित विरुद्धमा छ । त्यसमाथि यो विधेयकलाई भारत भ्रमणसँग जोडिनुले पनि यसको अन्तर्यलाई सहजै वुझ्न सकिन्छ,’ उहाँले भन्नुभएको छ, ‘यस्ता विषयमा संसदको ध्यान गम्भीर रुपमा जानु र संसदको विशेषाधिकारको रक्षा गरिनु आवश्यक छ ।’

महासचिव पोखरेलले नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको पनि उल्लेख गर्नुभएको छ । ‘बंगलादेश जानेवाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय हो । यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोँच हो,’ उहाँले भन्नुभएको छ, ‘यसप्रति सिङ्गो संसद र माननीयज्यूहरुको ध्यान गम्भीर रुपमा जानुपर्दछ ।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्रीवाट धेरै कमजोरी भएको उहाँको ठहर छ ।

उहाँले औँल्याउनु भएका कमजोरी

क) औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर जनतालाई गुमराहमा राख्ने र ढाट्ने काम ।

ख) औपचारिक भ्रमणलाई पारिवारिक नीजि भ्रमणजस्तो बनाउने काम । सुरक्षा सल्लाहकारसँगको भेटमा भारतीय विदेश सचिव उपस्थित भएको देखिदाँ प्रधानमन्त्री भने परराष्ट्रका अधिकारी विना नै छोरीको साथमा देखिनु गम्भीर कमजोरी हो ।

ग) भ्रमणका क्रममा मन्त्रीज्यूहरुको तुलनामा प्रधानमन्त्रीले आफ्नी छोरीलाई (जो प्रधानमन्त्रीको स्वकिय सचिव समेत हुन्उ) चच्च मर्यादाक्रममा राख्नु कुटनीतिक दृष्टिले गम्भीर त्रुटी हो ।

घ) भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रीत गर्न पूर्णतः असफल रह्यो । जस्तोः सिमा समस्याको समाधान, भारतीय वाँधका कारणले वर्खामा हुने गरेको तराई क्षेत्रको डुवानको समस्याको समाधान,पोखरा र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एअररुटको प्राप्ति र नेपाल भारत असमान सन्धी संझौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन । यस्ता विषयलाई अदृष्य भयका कारण प्रधानमन्त्री स्वयमले उपेक्षा गरेको देखियो ।

ङ) प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतिय चासोको आँखा चिम्लेर सम्वोधन गर्ने काम भयो । नेपालको सरोकारका मुख्य विषयहरुले ठाउ पाउन सकेनन् । तर पनि प्रधानमन्त्री भारतिय प्रधानमन्त्रीको सान्त्वना भाषणको प्रसंशा गरेर भ्रमणको औचित्य पुष्टिगर्न खोजिरहनु भएको छ ।

च) जनप्रतिनिधिज्यूहरुले कुटिलताले भरिएको भाषणमा होइन तथ्यमा प्रवेश गरेर प्रधानमन्त्रीसंग सवाल जवाफ गर्नुपर्दछ । भारतभ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरुवाट भएको कुटनीतिक मर्यादाको गम्भीर उलंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नु पर्दछ । ताकी भविष्यमा कुनैपनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शीर निहुराउने काम नगरोस् ।