समसामयिक विषयमा एमाले महासचिवलाई पाँच प्रश्न र उहाँले दिएका ९ सय शब्दका जवाफ
काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आथित्यतामा एमाले प्रचार विभागले मुख्यालय च्यासलमा पछिल्लो कार्यविभाजन अनुसार केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीका लागि स्वागत तथा बिदाई कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रम एमालेका उपमहासचिव समेत रहनु भएका पृथ्वी सुब्बा गुरुङलाई प्रमुख र केन्द्रीय सदस्य विष्णु रिजाललाई उपप्रमुखको जिम्मेवारीबाट बिदाई गरिएको थियो । त्यस्तै विभागले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई इञ्चार्जको जिम्मेवारीमा स्वागत गर्यो । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले ७० वर्षे उमेरहद निलम्बन, नागरिक विधेयक, प्रधानमन्त्रीले भारत भ्रमणका बेला पहिरिएको गेरुवस्त्र, अखण्ड नेपालको मुरल, विद्यूत व्यापारलगायतका विषयमा नेकपा (एमाले)को प्रष्ट धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेका धारणा उहाँकै शब्दमाः
नेतृत्वमा सबै भन्दा बढी बदलाब ल्याउने दल एमाले
पार्टी एकीकरणको प्रक्रियामा जोड्ने प्रयत्न अन्र्तरगत मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनय गरिसकेपछि उठ्ने प्रश्नको सम्वोधनका रुपमा हामीले ७० वर्ष उमेरहदलाई तत्कालनका लागि स्थगन गरेका छौँ । त्यसले नेकपा (एमाले) लोकतान्त्रिक अभ्यासमा छ र लोकतन्त्रको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनु पर्ने विषय नै होइन । नेपालका सबै राजनीतिक दलका तुलनामा नेतृत्वमा बदलाब ल्याउने दलका रुपमा नेकपा (एमाले) छ ।
चाहे त्यो नेपाली कांग्रेससँग तुलना गर्नुहोस् । चाहे नेपालका अन्य कम्युनिष्ट पार्टीसँग तुलना गर्नुहोस् । पुष्पकमल दाहालले २०४५ सालदेखि लगातार प्रमुख नेताका रुपमा हुनुहुन्छ । हाम्रो पार्टीमा ०४५ सालदेखि यताको कुरा गर्ने हो भने मदन भण्डारी नेता बन्नुभयो । माधव नेपाल नेता बन्नुभयो । झलनाथ खनाल नेता बन्नुभयो । केपी शर्मा ओली नेता बन्नुभयो । एकातिर एकजना मात्रै नेता, अर्कोतिर पाँच जना नेता भएको पार्टी हो । त्यसकारण यो पार्टीमा यस्तो विषय उठाएर पार्टीको जीवन्ततामा समस्या हुन्छ कि भन्नु पर्दैन । ७० वर्षको उमेर हदले नेतृत्वमा बदलाम आउने वा लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाम आउँदै । त्यो कुरालाई हाम्रो पार्टीले अभ्यासबाट नै स्थापित गर्दै आएको छ ।
अहिलेको प्रमाणीकरण विधेयक संविधानको विपक्षमा
सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । नागरिकताबाट बञ्चित भएका नेपाली युवाहरुलाई नागरिकता दिनका लागि अध्यादेश जारी गर्ने कामको नेतृत्व पनि एमालेले नै गरेको थियो । त्यसकारण यो विषयमा एमालेले राजनीति गर्न खोजेको भन्ने प्रश्न नै होइन । तर, सर्वोच्च अदालत जसले संविधानको व्याख्या गर्छ उसले गरेको व्याख्याका आधारमा समग्र प्रश्नहरुको निरुपण गर्न माग गरेको अवस्थामा र तत्कालिन सम्माननीय राष्ट्रपतिले पनि नागरिकताका सन्र्दभमा संविधानले उठाएका विषयवस्तुको हल गर्न संसदमा लेखिपठाएको अवस्था संसदले ती विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नुपर्ने थियो । तर, सत्ता गठबन्धन त्यसमा अनुदार बन्यो ।
अहिले प्रमाणिकरण भएको विधेयक संविधानको विपक्षमा पनि छ । के अर्थमा भने संविधानले प्रादेशिक पहिचानसहितको नागरिकताको प्रवन्ध गरेको छ । त्यो चिजलाई सम्वोधन गर्न सकेको छैन । अर्कोतिर नेपाल र भारतका विचमा समान व्यवस्था राष्ट्रिय हितको विषय हो । त्यसलाई उपेक्षा गरेको छ । त्यो कुरामा हाम्रो असहमति हो । त्यसलाई राजनीतिको विषयको रुपमा होइन, राष्ट्रिय हितको विषयका रुपमा बुझिनु पर्छ ।
विद्यूत व्यापार होइन, खपत अहिलेको आवश्यकता
नेपालको जलविद्यूत विकासमा सबै भन्दा बढी नीतिगत रुपमा पहल कदमी लिने र भूमिका खेल्ने पार्टी नेकपा (एमाले) नै हो । सय वर्षमा ९ सय मेगावाट जति मात्रै विद्युत उत्पादन भएको समयमा, १८ घण्टा लोडसेडिङ भैरहेको समयमा नीतिगत सुधारका माध्ययमबाट हामीले योजनाबद्ध ढंगले काम गर्दा अर्थात हामीले सरकार छाड्दा प्रस्तुत गरेको बजेट सुन्ने मौका पाउनु भयो होला । एक वर्षमा नेपालमा एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भनेर घोषणा गरेका थियौँ । सय वर्षमा ७ सय मेगावाट एक वर्षमा एक हजार मेगावाट विद्यूत जोडिने योजना छोटो समयमा तयार गरेका थियौँ । यो भनेको उर्जा विकासका सन्र्दभमा हामीले गरेको प्रयासलाई यो ढंगले बुझ्नुपर्छ ।
जहाँसम्म नेपालको विद्यूत विकासमा अन्तराष्ट्रिय सहयोगको कुरा छ । नेपालको प्राथमिकतामा हुनुपर्छ । हामीले त्यो सन्र्दभलाई नेपालको राष्ट्रिय हितकै सन्दर्भमा जोडेर उठाएका छौँ । विद्यूत व्यापारका सन्र्दभमा कुरा गर्दा दुई वटा कुरामा हाम्रो ध्यान जानुपर्छ । पहिलो नेपाल विद्यूत प्राधिकरणले नै विद्यूत व्यापारको अधिकार प्राप्त गर्दै आएकोमा त्यसको विकल्पका रुपमा नीजि क्षेत्रलाई अधिकार प्रदान गर्ने गरी यो गठबन्धन सरकारले जुन ढंगले काम गर्न खोजिरहेको छ । उचित होइन । विद्यूत व्यापार नीजि क्षेत्रमा पठाइ हाल्नुपर्ने हतार आवश्यक छैन ।
अर्को भनेको नेपालमा विद्यूत खपत बढाउने कुरामा राष्ट्रिय नीति बनाउनुपर्छ । अहिले नै व्यापारमा प्राथमिकता दिने कुरा गलत छ । अहिले सबै उधोगले प्रयाप्त विजुली पाउन नसकेको अवस्थामा विद्युत व्यापारको कुरा व्यवहारिक छैन । नेपालको व्यापार घाटा कम गर्नका लागि विद्यूत खपत वृद्धिको विकल्प छैन । अहिले हामी पेट्रोलिय प्रदार्थको व्यापारमा ठूलो व्यापार घाटा व्यहोर्न बाध्य छौँ । त्यसलाई कम गर्न जरुरी छ ।
विदेशी भूमिमा औपचारिक पोशाक बदल्नु गलत
कम्युनिष्टको अन्तिम अस्त्र गेरुवस्त्र भन्ने सन्र्दभमा जसले विगतमा मन्दिर भत्काउने, टुप्पी काट्ने, जनै चुढाउने एक प्रकारले भन्ने हो भने धार्मिक सद्भावलाई विथोल्ने, पुराण–प्रवचन लगाउनेहरुको हत्या गर्ने खालको काम गर्नेहरु नै गेरुवस्त्र धारण गरेर पूजाआज गर्ने कुरा उचित होइन । हरेक धर्म–संस्कृतिको सम्मान गर्ने कुरा राज्यको कर्तव्य हो । मुलुकको एउटा जिम्मेवार राजनीतिक दलका हिसावले हामी हरेक धर्म–संस्कृतिका सामाजिक मूल्य–मान्यताप्रति संवेदनशील छौँ । हामीले राज्यलाई धर्मनिरपेक्ष राज्यका रुपमा एक प्रकारले भन्ने हो धार्मिक स्वतन्त्रतालाई हाम्रो पार्टीले आत्मसाथ गर्दै आएको छ ।
जहाँसम्म औपचारिक भ्रमणमा गएका मुलुकका प्रधानमन्त्रीले विदेशी भूमिमा राष्ट्रिय पोशाक बदल्ने कुरा कुटनीतिक कमजोरी हो भन्ने लाग्छ । आस्था–विश्वासका सन्दर्भमा केही भन्नु छैन । उहाँको त्यो आस्था–विश्वास हो भने नीजि भ्रमणमा जाँदा त्यो प्रयोग गर्दा हुन्छ । औपचारिक भ्रमणमा जाँदा त्यो उचित होइन ।
ग्रेटर नेपालको बहस इतिहासको गौरवगाथा
ग्रेटर नेपालको विषय आम चर्चामा छ । इतिहासको गर्वको विषयका रुपमा यस्ता विषय बेलाबखतमा हुने कुरा अनौठो होइन । हाम्रा पूर्खाहरुको विरताको गाथा गाउँदै हामी कहाँसम्म पुगेका थियौँ भन्ने विषयमा चर्चा गर्दा यो विषयको चर्चा हुने कुरा नेपालको विरता र गौरवगाथाको विषय छ ।
हाम्रा कवि, कलाकारले पनि त्यो विषयलाई महत्वका साथ उठाउनु भएको छ । हाम्रो विरता हामे इतिहास हो । त्यो विषयमा हामी गर्व गर्छौ । जहाँसम्म अहिले नेपालको सन्दर्भको कुरा छ । आधुनिक विश्वका परिपेक्षको अवस्था जे अवस्था छ । भारतले पनि सम्मान गर्नुपर्छ । उसको महत्वकाक्षां अहिलेको यथार्थ भन्दा बाहिर गएर प्रकट हुनुहुँदैन । सुगौली सन्धिले जुन प्रकारको सिमांकन गरेको छ । त्यो सिमांकनलाई हामीले हाम्रो राजनीतिक सिमांकनका रुपमा दाबी गर्दै आएका छौंं । जसका आधारमा हामीले गुमेको भू–भागलाई समेटेर नयाँ नक्शा प्रकाशन गरेका छौँ । त्यो हाम्रो अधिकारको कुरा हो ।
अरु विषयचाँहि चाहे भारतले प्रकट गरेका कुरा हुन वा ग्रेटर नेपालको कुरा आफ्नो इतिहासको गौरवगाथाका विषय हुन । गौरवगाथाकै हिसाले हेर्नृे हो भने पनि अखण्ड भारतको कुरा धेरै पुरानो र ग्रेटर नेपालको कुरा भनेकोचाँहि सुगौली सन्धि पूर्वको करा हो । जीवन्त इतिहासको कुरा गर्ने हो भने अखण्ड भारतको तुलनामा ग्रेटर नेपाल सापेक्षित जीवन्त इतिहास हो । तर, हामीले राजकीयरुपमा भन्ने हो भने सुगौली सन्धिपछिको नेपालको भू–भागलाई नै नेपालको राजनीतिक नक्शाका रुपमा प्रस्तुत गर्दै आएका छौँ ।