नेपाली कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक, उजुरीहरूमाथि छलफल हुने

काठमाडौँ, २० जेठ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ । आगामी जेठ २१ गते बिहीबारका लागि समितिको बैठक बोलाइएको हो ।

समितिका सचिव दिनेश थापामगरले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको छ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

बैठकमा विशेष गरी पार्टीभित्रको आन्तरिक अनुशासनको अवस्था, विभिन्न समयमा प्राप्त भएका उजुरीहरू र समितिको आगामी कार्ययोजनाका बारेमा विस्तृत छलफल हुने बताइएको छ । पछिल्लो समय पार्टीका विभिन्न तहमा अनुशासन उल्लङ्घनका घटनाहरू बढेको गुनासो आइरहँदा कांग्रेसले यो बैठक बोलाएको हो ।

बैठकले प्राप्त उजुरीहरूमाथि प्रारम्भिक छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउने वा स्पष्टीकरण सोध्ने विषयमा समेत ठोस निर्णय लिन सक्ने बुझिएको छ ।