निर्माण समूहद्वारा ‘नीरफूल’को विशेष प्रदर्शनी
काठमाडाैं, ३० जेठ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’ निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भएका छन् ।
सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।
“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”
अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन ? भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”
स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत–सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उहाँले भन्नुभयो ।
आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेर्नुभएको थियो ।