विश्वप्रसिद्ध सुपरमोडल भेरुस्का ८७ वर्षमा निधन
बर्लिन, १० मङ्सिर । विश्वकै पहिलो पुस्ताका सुपरमोडलमध्ये एक भेरुस्का नामले चर्चित भेरा फोन लेन्डोर्फको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार बर्लिनमा निधन भएको हो।
उनको निधनबारे उनकी बहिनी क्याथारिना कापेलहोफ–उल्फको लक्जरी बेल्ट ब्रान्डको वेबसाइटमार्फत जानकारी दिइएको हो। सन् १९६० र १९७० को दशकमा फेसन, कला तथा फोटोग्राफीको क्षेत्रमा उनले महत्वपूर्ण प्रभाव पारेको जनाइएको छ।
सन् १९३९ मा तत्कालीन पूर्वी प्रशियाको कोनिग्सबर्गमा जन्मिएकी भेरुस्का हाल रुसको कालिनिनग्राड क्षेत्रमा पर्ने स्थानमा हुर्किएकी थिइन्। उनका पिता हेनरिख ग्राफ फोन लेन्डोर्फ जर्मन प्रतिरोध आन्दोलनमा संलग्न थिए। सन् १९४४ मा एडोल्फ हिटलरको हत्या गर्ने असफल प्रयासमा संलग्न भएको आरोपमा उनलाई मृत्युदण्ड दिइएको थियो।
द्वितीय विश्वयुद्धपछि उनको परिवार ह्याम्बर्गमा बसाइँ सरेको थियो। उनले त्यहाँ कला अध्ययन गरेपछि इटालीको फ्लोरेन्स पुगेकी थिइन्। २० वर्षको उमेरमा इटालियन फोटोग्राफर उगो मुलासले उनलाई मोडलका रूपमा पहिचान गरेका थिए।
६ फिटभन्दा बढी उचाइ भएकी भेरुस्का आफ्नो असाधारण शारीरिक बनोट र आकर्षक व्यक्तित्वका कारण तत्कालीन अन्य मोडलभन्दा फरक देखिन्थिन्। उनले फोटोसुटमा शरीरको अभिव्यक्तिलाई नाटकीय र कलात्मक रूपमा प्रस्तुत गर्दै परम्परागत मोडलिङ शैलीलाई चुनौती दिएकी थिइन्।
सन् १९६० को दशकको मध्यसम्ममा उनी विश्वकै चर्चित र उच्च पारिश्रमिक लिने मोडलमध्ये एक बनिसकेकी थिइन्। Vogue पत्रिकाकी तत्कालीन प्रधान सम्पादक डायना भ्रिल्यान्डको ध्यानसमेत उनले खिचेकी थिइन्। भेरुस्का Vogue को आवरणमा करिब एक दर्जनपटक देखिएकी थिइन्।
उनले मोडलिङसँगै चलचित्रमा पनि अभिनय गरेकी थिइन्। सन् १९६६ मा माइकलएन्जेलो एन्टोनियोनी निर्देशित Blow Up मा उनले आफैंको भूमिकामा अभिनय गरेकी थिइन्। चलचित्रमा बेलायती अभिनेता डेभिड हेमिङ्ससँगको उनको दृश्य चर्चित बनेको थियो। सन् २००६ को Casino Royale मा पनि उनी देखिएकी थिइन्।
सन् १९६० र १९७० को दशकमा उनले भ्यालेन्टिनो गाराभानी, यभ सन्त लरेँ र कार्ल लागरफेल्डजस्ता चर्चित फेसन डिजाइनरसँग काम गरेकी थिइन्। फोटोग्राफर रिचर्ड एभेडनले उनलाई ‘विश्वकै सबैभन्दा सुन्दर महिला’ समेत भनेका थिए।
एभेडन र भेरुस्काले फेसन इतिहासकै महँगामध्ये एक फोटोसुटमा सहकार्य गरेका थिए। Great Fur Caravan नाम दिइएको उक्त २६ पृष्ठको फोटोफिचर जापानमा पाँच सातासम्म खिचिएको थियो। त्यसका लागि Vogue ले करिब १० लाख अमेरिकी डलर खर्च गरेको थियो, जुन अहिलेको मूल्यमा करिब सात गुणा बढी हुने जनाइएको छ।
उनको निधनपछि फेसन तथा फोटोग्राफी क्षेत्रका विभिन्न व्यक्तिले श्रद्धाञ्जली व्यक्त गरेका छन्। इटालियन फोटोग्राफर तथा उनका पूर्वसाथी फ्रान्को रुबार्टेलीले पाँच दशकभन्दा बढी समयपछि हालै पुनः सम्पर्क भएको स्मरण गर्दै दुःख व्यक्त गरेका छन्।
‘अमेरिकाज नेक्स्ट टप मोडल’का निर्णायक तथा फोटोग्राफर नाइजेल बार्करले भेरुस्काले फेसन फोटोग्राफीमा क्रान्तिकारी परिवर्तन ल्याउन योगदान गरेको बताएका छन्। उनले सन् २००१ मा भेरुस्काको फोटो खिचेको स्मरण गर्दै उनलाई शैली र सौन्दर्यको प्रतीक तथा अत्यन्तै विनम्र व्यक्तित्वका रूपमा वर्णन गरेका छन्।
भेरुस्का सन् १९७० को दशकमा मुख्यधाराको मोडलिङबाट टाढिएकी थिइन्। त्यसपछि उनले कलाकारका रूपमा आफ्नो करियर अघि बढाएकी थिइन्।
आफ्नो सफल मोडलिङ करियरका बाबजुद उनले सन् २००८ मा जर्मन पत्रिका Bild सँग आफूले कहिल्यै मोडल बन्न नचाहेको बताएकी थिइन्। आफूलाई ‘अर्थहीन वस्तु’का रूपमा प्रस्तुत गर्न नचाहेको उल्लेख गर्दै उनले असहज महसुस हुँदा आफूलाई त्यहाँबाट हराउन सक्ने र पूर्ण स्वतन्त्र हुन सक्ने जीवन आफ्नो सपना रहेको बताएकी थिइन्।
