मध्यपुरथिमिमा नेपाल–जापान सांस्कृतिक महोत्सव

भक्तपुर, ४ मङ्सिर । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा मध्यपुरथिमि नगरपालिकाले नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरेको छ।

मध्यपुरथिमि–चपाचोस्थित पोटरी स्क्वायरमा आयोजित महोत्सवको नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

महोत्सवमा नेपाल र जापानका कला, संस्कृति, परम्परागत सङ्गीत, नृत्य तथा मौलिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी गरिएको छ। कार्यक्रममा नगरप्रमुख श्रेष्ठले महोत्सव दुई देशबीच सात दशकदेखि कायम मित्रता, विश्वास, पारस्परिक सहयोग, सम्मान र आत्मीय सम्बन्धको उत्सवसमेत भएको बताउनुभयो।

उहाँले भौगोलिक रूपमा नेपाल र जापान टाढा भए पनि सांस्कृतिक सभ्यता, मानवीय संवेदना, परम्परा र आत्मीयताका कारण दुवै देशबीच निकट सम्बन्ध रहेको बताउनुभयो। यस्ता कार्यक्रमले दुई देशका कला, संस्कृति, मौलिक परम्परा, रहनसहन तथा खानपानलाई एकअर्कासँग जोड्ने उहाँको भनाइ थियो।

मध्यपुरथिमि कला, संस्कृति र मौलिक सभ्यताले समृद्ध रहेको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले स्थानीय कला तथा सम्पदाको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण, अन्तर्राष्ट्रियस्तरमा प्रचार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। जापानले कला, संस्कृति, मौलिक परम्परा तथा आधुनिक विकासमा हासिल गरेको प्रगतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने उहाँले बताउनुभयो।

नेपाल जापानमैत्री सङ्घ जापानका अध्यक्ष हिरोमी इस्हिओकाले गौतम बुद्धको देश नेपालबाट बुद्धले देखाएको मार्ग अनुसरण गर्दै जापानले विकासमा प्रगति गरेको बताउनुभयो। उहाँले नेपाल र जापानबीचको मित्रता युगौँयुगसम्म कायम रहने विश्वास व्यक्त गर्नुभयो।

महोत्सवमा २१ वटा कक्ष राखी हस्तकला, काष्ठकला, मूर्तिकला तथा विभिन्न पेसा र संस्कृतिसँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको छ। त्यस्तै, नेपाल–जापानका मुद्रा, सिक्का तथा नोटसमेत प्रदर्शनीमा राखिएका छन्।

नगरपालिकाको तर्फबाट दाफा भजन, बाँसुरी बाजा, महाकाली नाच, धिमेबाजा तथा विभिन्न मौलिक नृत्य प्रस्तुत गरिएको थियो भने जापानको तर्फबाट विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

महोत्सव आज रातिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *