कोशी प्रदेश सरकार र मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेले हाल्यो सर्वोच्चमा रिट

विराटनगर, २२ असार । असंवैधानिक तरिकाले कोशी प्रदेशमा नयाँ सरकार गठन भएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा नेकपा एमालेले रिट हालेका छन् ।

कोशी प्रदेशमा मुख्यमन्त्री र सरकारको लागि गठबन्धनले सभामुख बाबुराम गौतमलाई उपस्थित गराएर संख्या पुर्‍याएपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट हालेकाे हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका हुन् ।

एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ ।

मुख्यमन्त्री र सरकार गठबन्धन दलले सभामुखसहित ४७ सिट संख्या पुर्‍याएको छ। ९३ सभासदस्य रहेको प्रदेशमा सरकारका लागि ४७ सिट आवश्यक छ। यद्यपि, सभामुखलाई सरकार गठनका लागि उपस्थिती गराईनु संविधान विपरीत भएको एमालेको भनाइ छ।

संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको भण्डारीले बताए ।

उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभाबाट बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने कानूनी व्यवस्था छ । उपधारा ३ अन्तर्गत प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको (ठूलो) दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।