काेशीका मुख्यमन्त्री नियुक्तिविरूद्ध एमालेकाे रिटमा आइतबार पेशी

विराटनगर, २२ असार । असंवैधानिक तरिकाले कोशी प्रदेशमा नयाँ सरकार गठन भएको भन्दै शुक्रबार सर्वोच्च अदालत कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि आइतबार पेशी तोकिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले बिहिवार गर्नुभएको मुख्य मन्त्रीको नियुक्ति नेपालको संविधानको ठाडो उल्लंघन भएको भन्दै कार्की तर्फबाट शुक्रबार सर्वोच्च अदलतमा रिट दर्ता भएको थियाे ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।