कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्धको रिटमा आज सुनवाइ हुँदै

काठमाडौं, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार विरुद्ध परेको रिटमाथि आज सुनवाइ हुँदैछ ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भएकाे भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराउनुभएकाे थियाे ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् ।

संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएकोले एमाले सर्वोच्च अदालतमा पुगेको हो ।