भारतको मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए
एजेन्सी, २६ असार । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जना मारिएका छन् ।
मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ ।
गत मेदेखि इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ ।
राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार नौ सय ९५ फस्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र छ हजार सात सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका एक सय २४ कम्पनी र भारतीय सेनाको एक सय २४ टोली परिचालन गरिएको जनाइएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दङ्गमा ती हजारभन्दा बढी घाइते भएका छन्भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।