कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु
एजेन्सी, २ साउन । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता भएका छन् ।
आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो ।
ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ
पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सात जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।
अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार पाँच सय ७० जना विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या सात सय ८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ ।