भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियो सार्वजनिक

एजेन्सी, ४ साउन । भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियो सार्वजनिक भएकाे छ ।

मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसक संघर्षका क्रममा भीडले दुई जना महिलालाई निर्वस्त्र सडकमा घुमाएको घटना बाहिर आएको हो ।

भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भए लगत्तै भारतका सत्ता पक्ष तथा विपक्ष दलका नेताहरूले घटनाप्रति आपत्ति जनाएका छन् ।

उक्त भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले ती महिलाहरू मे ४ मा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको सिकार भएको बताएको छ । मणिपुर प्रहरीले भनेको छ, ‘यो घटना मे ४ को हो । यसमा अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा अज्ञात व्यक्तिविरुद्ध दर्ता गरिएको छ। यस विषयमा अनुसन्धान शुरु भएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि प्रहरीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाबाट आफ्नो हृदय पीडाले भरिएको बताएका छन् । उनले याे घटनाले १४० करोड भारतीयलाई लज्जास्पद बनाएको टिप्पणी गरेका छन् । उनले घटनाका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने पनि बताएका छन् ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् । उनका अनुसार घटनामा संलग्न एक आरोपी पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यो घटना जानकारीमा आएको भन्दै यसबारेमा २८ जुलाईमा सुनुवाइ गर्ने बताएको छ ।