गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने सङ्ख्या बढी
गुल्मी, ६ साउन । गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा नागरिकता बनाउनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको सङ्ख्या करिब पाँच हजारभन्दा बढी देखिएकाे हाे ।
गत आवमा वंशज, वैवाहिक र जन्मका आधारमा १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् भने राहदानी बनाउनेको सङ्ख्या १५ हजार ८६ जना छन् ।
कार्यालयका अनुसार जिल्लामा आव २०७८/७९ मा सात हजार चार सय नौ र आव २०७७/७८ मा दुई हजार चार सय २६ र जनाले राहदानी बनाएका छन् ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको बताउनुभयो ।
कार्यालयका अनुसार गत आवमा राहदानी बनाएवापत रु सात करोड ३१ लाख ९० हजार राजस्व सङ्कलन भएको छ ।