महाराष्ट्र पहिरोः सत्ताइस जनाको शव भेटियो, साठी जना अझ बेपत्ता
एजेन्सी, ७ साउन । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छ भने कम्तीमा साठी जना बेपत्ता भएका छन् ।
मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।
आपत्कालीन सहायता टोलीका एक अधिकारीहरूका अनुसार २७ वटा शव फेला परेकाे छ भने करिब ६० जना अझै बेपत्ता छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।
मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ ।