कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा
काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउन आदेश दिइएकाे छ ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गर्नुभएकाे रिट निवेदनमाथि न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिनुभएकाे हो ।
अब कोशी सरकार गठनको विवादमा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । पूर्ण इजलास ३ न्यायाधीशको रहने कि ५ जनाको भन्नेबारे पूर्ण इजलासले मंगलबार नै टुंगो लगाउनेछ ।
सोमबार बहस शुरु हुनुअघि संवैधानिक इजलासमा पठाउने कि संयुक्त इजलासले नै सुनुवाइ गर्ने विषयमा विवाद भएपछि यस्तो आदेश भएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश संलग्न हुनैपर्ने संवैधानिक बाध्यता छ ।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री दाबी गर्नुभएकाे थियाे ।
सोही आधारमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएपछि एमालेका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।