कोशी प्रदेश मुख्यमन्त्री नियुक्ति विवाद विरूद्धकाे रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, ९ साउन । कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले असार २१ मा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गर्दै मुख्यमन्त्री नियुक्ति गर्नुभएकाे थियाे ।

संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएपछि सोको विरुद्धमा एमालेका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिनुभएकाे मुद्दामा सोमवार सुनवाइ हुँदा न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश भएपछि आजबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो ।

तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिँदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।