लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल
मोरङ, १४ साउन । लगानी अभावमा खेल सामग्री नहुँदा निराश हुनुपरेकाे मोरङको बेलबारीका फुटबल प्रशिक्षक शङ्कर सुवेदीले बताउनुभएकाे छ ।
सुवेदीका अनुसार अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भइरहेपनि खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव रहकाे छ ।
पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् तर अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् ।
खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरु निराश हुनुपरिरहेको प्रशिक्षक सुवेदी बताउनुहुन्छ ।
बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । “सङ्घीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन”, उहाँले भन्नुभयो– “स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दैआएका छौँ ।”
मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन् । बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन् । मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएकोे बताउनुहुन्छ ।
“जिल्ला फुटबल सङ्घ आर्थिकरूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन”, उहाँले भन्नुभयो ।
भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेल्नुभएका विक्रम लिम्बूले भन्नुभयो, “खेल सामग्री पर्याप्तरुपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन ।” राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उहाँले जोड दिनुभयो ।
मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर डाँगीहाट युथ क्लब स्थापना भएको छ । भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ ।
स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम वान्तवा राई बताउनुहुन्छ । विसं २०७० मा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँचवटा गोल्डकप भव्यरूपमा सम्पन्न गरिसकेको छ । अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिनुभयो ।
स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ । प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदैआएका छन् ।
विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लबले तेह्र वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ ।