स्याङ्जाका सबै स्थानीय तहकाे खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जा, १९ साउन । स्याङ्जाका सबै स्थानीय तहका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धारा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीका ९४ नमूना संकलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो ।

कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाचँ, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरेको थियो ।

मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ”। प्रमुख शर्माले भन्नुभयो,

सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलवग ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए ।

कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।