पाल्पा तानसेनका डेंगु संक्रमित महिलाको मृत्यु

पाल्पा, २२ साउन । डेंगु संक्रमणबाट पाल्पाकाे तानसेन नगरपालिकाका एक महिलाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् । गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

डेंगु संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गरेकी उनलाई पुनः समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा पुर्‍याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्लामा पाल्पा र रामपुर अस्पतलसँगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण वर्षायामदेखि सुरु हुने गर्दछ । विगतमा तराईंमा मात्रै देखिने यो रोगको संक्रमण पछिल्लो वर्षमा पहाडमा समेत बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।